तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मी, झापा र सिरहा जिल्लाको विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार एक बालकसहित तीन जना मृत अवस्थामा भेटिएका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी बस्ने १४ वर्षीय युवराजदिन मियाँ सोही ठाउँस्थित बाडिगार्ड खोलामा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार माछा मार्न भनि उक्त खोलामा गएका उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
त्यस्तै, झापामा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मेचीनगर नगरपालिका–११ रामचोक बस्ने ५७ वर्षीय कन्चन राई सोही ठाउँस्थित खाली जग्गामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
उता, सिरहाको सिरहा नगरपालिका–१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा एक पुरुषको शव फेला परेको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
