वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १८:२६
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।