अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:५९
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रूपैयाँसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ बस्ने २७ वर्षीय निसाज सुनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा.७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले बाराको पचरौता नगरपालिका–४ इनर्वाबाट अबैध लागूऔषध गाँजा करिब २ सय ३० किलोसहित गएराति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका–४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवान रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।