अवैध लागूऔषधसहित ७ जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ५, बुधबार १७:५२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा, झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट अवैध लागूऔषध खैरो हेरोइन ४८ ग्राम ४६ मिलिग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–५ डढोरा टोल बस्ने २५ वर्षीय दिलिप कुमार दास रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उनले प्रयोग गरेको म.प्र.०३–००५ प ९८९५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचिपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ५ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बस्ने २५ वर्षीय बिशाल लिम्बुलाई मंगलबार बेलुकी पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २० मिमिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनि नगरपालिका–३ बस्ने ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका–१ बस्ने १९ वर्षीय रन्जन कुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ४७६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, सुनसरी, कोशी गाउँपालिका–१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय सुभाष कुमार यादवलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले को.३५ प ५५३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम १ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीय रोशन दर्जी र ३१ वर्षीय सुदन परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधससहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।