लेक लागेर २९ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १७:२९
सांकेतिक तस्वीर

गलेश्वर । मुस्ताङमा पछिल्लो तीन वर्षको अवधिमा लेक लागेर २९ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर मृत्यु भएका छन् । मृत्यु हुनेमा सात जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका छन् ।

प्रहरीका अनुसार, आव २०७८–७९ मा पाँच महिला र एक पुरुष गरेर ६ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।

यस्तै, आव २०७९–८० मा पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्क अनुसार, उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।

यसैगरी, चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठ जना भारतीय नागरिक रहेका छन् । उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।