१३० किलो गाँजासहित ७ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ बैशाख ५, बुधबार १६:०१

मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका–४, माथिल्लो मसिने भन्ने स्थानबाट मंगलबार सात जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले लागूऔषध गाँजा १३० किलो १५० ग्रामसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा क्रमशः मकवानपुरको कैलाश गाउँपालिका वडा नं.४ बस्ने वर्ष २८ को बमबहादुर चेपाङ, वर्ष २७ को विरमान प्रजा, वर्ष २७ को हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को टिकाराम प्रजा, मनहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३६ को दिपक थापा मगर, मनहरी–३ बस्ने वर्ष ४४ को रामहरी लुईटेल र एक जना नाबालक रहेका छन् ।

उनीहरलाई पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार दिउँसो साढे २ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने उक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकामा हिडिरहेको अवस्थामा उनीहरुलाई सो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले  बताए ।