डढेलोमा घाइते भएका बालकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र ३०,शुक्रबार १०:११

डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० वर्षीय बालक सुलस बुढा रहेका छन् । उनको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

यस्तै, उक्त डढेलोमा परेर अन्य दुई बालबालिका घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रजिअ दाहालले बताए ।

प्रजिअ दाहालका अनुसार, गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् ।

उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुर्याइएको थियो ।