हेटौंडाबाट लागूऔषधसहित दुई महिला पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २४, शनिबार १५:४९

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार करिब १२ किलो ९ सय ग्राम गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र हेटौंडा उपमहानगरपालिका–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलान रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, मे.१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट ६ किलो ४ सय ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।