‘एसईई दिनबाट बञ्चित भएकाहरूलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइने’

तु खबर संवाददाता
२०८० चैत्र २१,बुधबार १६:५१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट बञ्चित भएका विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था मिलाइने बताएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता गरेकी हुन् ।

साथै उनले एसईई परीक्षा दिन नपाएका कुनैपनि विद्यार्थीलाई परीक्षा दिनका लागि सूचना दिन आह्वान गरिन् ।

उनले कुनैपनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानुनी व्यवस्था भएपनि सरकारले उनीहरूलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन् ।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सबै कामलाई सरकारले अनलाइन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिएको जानकारी गराउँदै सो काम छिट्टै सम्पन्न हुने दाबी समेत गरिन् ।