अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २१,बुधबार १६:३३

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र मोरङ जिल्लाको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङको केदारस्यु गाउँपालिका–६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट खैरो हेरोइन १७ ग्राम २३ मिलिग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।