सीता माविको कम्प्युटरको सीपीयु तोडफोड

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १७:५४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित सीता माध्यमिक विद्यालयको कम्प्युटरको सीपीयु तोडफोड भएको छ ।

उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङले विद्यालयको २ थान कम्प्युटरको सीपीयु तोडफोड गरी भित्रि समान चोरी, सीपीडी संचालन चेकिङ ब्याट्री २ थान र एउटा माइक्रो फोन चोरी भएको जानकारी दिए ।

उनका अनुसार, विद्यालय चैत्र १५ गते परीक्षा सकिएर विद्यालय बन्द रहेको थियो । बन्द रहेको विद्यालयको लेखा शाखा तथा कम्प्युटर कक्षाको ढोका र दराजको चाबी लककाटी उक्त सामान तोडफोड गरी सामान चोरी भएको हो ।

अध्यक्ष थिङले उक्त घटना आफुहरुले चैत्र १८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्न आउँदा थाहा पाएको बताए ।

साथै उनले उक्त घटनामा संलग्न रहेका व्यक्तिको खोजीकार्य गर्न प्रहरी प्रशासन, अभिभावक, स्थानीय समाजसेवी लगायत सबैलाई अनुरोध गरेका छन् ।