अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । देशको सिन्धुली, रुपन्देही, मोरङ र सप्तरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, सिन्धुलीकै कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन ४५ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका–२ बस्ने २० वर्षीय सुबोध श्रेष्ठ समेत ३ जनालाई शनिबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा. प्र ०१–०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका–२ बस्ने २० वर्षीय अजित हरिजन र १९ वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका–८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित सोही नगरपालिका–६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.न.१–०२ –००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
