चितवन र झापाबाट ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार १५:२०
सांकेतिक तस्बिर

हेटौंडा । नेपाल प्रहरीले अवैध लागूऔषधसहित दुई छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित मंगलबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।