हेटौंडाका २६ वटा होटलको अनुगमन, ६ वटामाथि कारबाही

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १७:३२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित संचालित विभिन्न २६ वटा होटलको अनुगमन गरिएको छ ।

खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडासहितको टोलीले हेटौंडा बजार क्षेत्रमा संचालित होटलहरुको अनुगमन गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १, २, ४ र १० स्थित विभिन्न होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको हो ।

सो क्रममा विभिन्न ६ वटा होटललाई जरिवानासहित कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका सूचना अधिकारी प्रगति अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार, सरसफाइमा लापरबाही, नक्कली चुक अमिलोको प्रयोग, फोहोर अवस्थाको पिठो राखिएको, अखाद्य तेलको प्रयोग, म्याद गुज्रिएको पेय पदार्थ र टोमेटो पेस्ट राखेको भेटिएको पाएपछि ६ वटा होटललाई जरिवानासहित कारबाही गरिएको हो ।

जसमध्ये हेटौंडा–१ को गङ्गा मिठाई उद्योग, अन्नपूर्ण भोजनालय, हेटौंडा–४ को हिमालयन स्विट्स र वृन्दावन मिष्ठान्न भण्डारलाई ५/५ हजार रुपैयाँ जरिवना गरिएको छ ।

यस्तै, हेटौंडा–४ को जयशम्भु मिष्ठान्न भण्डार र युनिभर्सल रेस्टुरेन्टलाई १०/१० हजार रुपैयाँ जरिवाना गरिएको अधिकारीले बताइन् ।