अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले देशको विभन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सिन्धुली, कैलाली र कञ्चनपुर जिल्लाको छुट्टछुृट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मोरङको पथरिशनिश्चरे नगरपालिका–२ छयालिस बिघेबाट अवैध लागूऔषध गाँजा ६ किलोसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय प्रेम कुमार याखा रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेटसहित बिहीबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा शहिदनगर नगरपालिका–३ बस्ने २० वर्षीय सन्तोष कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६९४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ४० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–११ दुम्मर बस्ने २४ वर्षीया शिखा डागी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–४ शन्तिपुरबाट अवैध लागूऔषध चरेस ९२ ग्राम ७१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीया प्रेम सागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले प्रेम सागर कुमारीको घरको आगनबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
