अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार १६:१५

काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।