लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ४,आईतवार १६:११

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार राति अवैध लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जिल्लाको कैलाश गाउँपालिका–१० नामटार घर भई हाल हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।