अवैध लागूऔषधसहित ११ जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार १५:५४

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, भक्तपुर, काभ्रे, झापा र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङकै सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागु औषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीबाट अवैध लागु औषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका–७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, काभ्रेको पनौती नगरपालिका–५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता झापाको दमक नगरपालिका–३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको टीकापुर नगरपालिका–३ रामपुरबाट अवैध लागु औषध खैरो हेरोइन १ सय मिलिग्रामसहित जानकी गाउँपालिका–७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका–१ भरतपुरबाट अवैध लागु औषध खैरो हेरोइन २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधव बिष्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।