७ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १६:५३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंसहित देशको विभिन्न स्थानमा ७ जना मृत अवस्थामा भेटिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौं, धनकुटा, मोरङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, सिन्धुपाल्चोक, गुल्मी र कैलाली जिल्लाको विभिन्न स्थानमा ७ जना मृत भेटिएका हुन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रिय निकुन्ज जंगलमा एक किशोरी मृत भेटिएका छन् । सोही नगरपालिका–३ बस्ने १८ वर्षीया शुस्मा लामा मृत अवस्थामा भेटिएकी हुन् ।

यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–५ मिलनचुङ काल्लेस्थित खोल्सीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भोजपुर अरूण गाउँपालिका–६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई रहेका छन् ।

उता मोरङको रंगेली नगरपालिका–२ जुलेबी टोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ आङपाङस्थित फोक्ते खोलामा एक पुरुष मृत फेला परेका छन् । सोही नगरपालिका–१० लुम्सा बस्ने ४४ वर्षीय जाङ्बु शेर्पा मृत अवस्थामा फेला परेका हुन् ।

यता सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका–१३ ठुलोसिरूबारी बस्ने ८४ वर्षीय जित बहादुर श्रेष्ठ मृत फेला परेका छन् । उनी सोही ठाउँस्थित खेतबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–७ ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका–४ फेदी बडिगार्ड खोलाको घाटमा शुक्रबार मृत भेटिएकी छन् । बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै, कैलालीको भजनी नगरपालिका–८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ती सबै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।