अवैध लागूऔषधसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १६:१७

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भद्रपुर नगरपालिका–३ घर बताउने २० वर्षीय मौसम किस्कु समेत २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी प्रहरीले झापाकै बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ९ सय ५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लिम्बु समेत ३ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ भन्सार चेक पोष्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर १५ ग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बाँके शाखा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।