अवैध लागूऔषधसहित ७ जना पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको बाँके, झापा, कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर ३८ ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी नगरपालिका–६ बस्ने ३० वर्षीय बिष्णु खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त होटलको जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता, कैलालीको जानकी गाउँपालिका–७ मख्रीबाट खैरो हेरोइन ३ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विनायक चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राृ गरेको हो ।
यसैगरी, मोरङको बुढिगंगा गाउँपालिका–५ कार्टुन टोल बस्ने ४५ वर्षीया मुनिया खातुनलाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
