ऊर्जा सम्बन्धी नीति मन्थन गर्दै रास्वपा

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार १६:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ । सोमबार काठमाडौँस्थित पर्यटन बोर्डको सभा हलमा नीति मन्थन गर्ने रास्वपाले जनाएको हो ।

ऊर्जा मन्थनमा तीन वटा सत्र छुट्टाइएको पार्टीको ऊर्जा नीति कार्यदलले जानकारी गराएको छ ।

पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा मन्थन हुनेछ । विकास थापाले सहजीकरण गर्ने यो सत्रमा त्रिरत्न बज्राचार्य, रामप्रसाद धिताल, कुशल गुरुङ, सुमन जोशी र अरनिको पाँडे विज्ञका रूपमा रहेनछन् ।

यस्तै, दोस्रो सत्र बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसद्मा प्रस्तावित विद्युत् विधेयकबारे हुने रास्वपाले जनाएको छ । जसमा सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले आ(आफ्ना धारणा राख्नेछन् ।

यस सत्रको सहजीकरण सांसद सोबिता गौतमले गर्नेछिन् । अन्तिम सत्रमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र जनमत पार्टीका अध्यक्ष सिके राउतले धारणा राख्ने कार्यक्रम रहेको छ ।

समापन सत्रमा पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले पनि धारणा राख्ने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।