बागमती प्रदेश सभा बैठकः विशेष समिति गठन
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकबाट बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरिएको छ ।
उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच भएको सहमति अनुसार ११ सदस्यीय विशेष समिति गठन गरिएको हो । समितिको संयोजकमा प्रदेश सभा सदस्य गोविन्द लम्साल रहेका छन् ।
यस्तै, सदस्यहरुमा क्रमशः डा.दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।
उक्त बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्य रत्न प्रसाद ढकालले सभामुख भुवन कुमार पाठकले दिएको समय अनुरुप विशेष समिति गठनको प्रस्ताव टेबुल गरेका थिए ।
प्रदेश सभा सदस्य ढकालले प्रस्तुत गरेका उक्त विशेष समितिको प्रस्तावलाई इन्द्रप्रसाद गोतामे, रमा आले मगर, शैलेन्द्र बज्राचार्य र मधुसुदन पौडेलले सर्मथन गरेका थिए ।
उक्त विशेष समितिले बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी प्रतिवेदन यही फागुन २९ गते बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न सोही बैठकले अनुमति प्रदान गरेको छ ।
