हेटौंडाबाट चार जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ०८:३७

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट प्रहरीले अवैध लागूऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४२ किलो ५०० ग्राम लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका वडा नम्वर ११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रशान्त प्रजा, ४१ वर्षीय रेशम प्रजा र ४१ वर्षीय दिपलाल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बुधबार बिहान पौने ९ बजेको समयमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा. ३ ख ८३८२ नं. को यात्रुवाहक बसमा उनीहरुलाई चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १२ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।