राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्ने भएको छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
बैठक सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यसूची रहेको छ ।
विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयनको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको र बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।