अवैध चरेशसहित पाँच जना पक्राउ
कपिलवस्तु । अवैध लागूऔषध चरेशसहित प्रहरीले आइतबार कपिलवस्तुतको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका–४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका–२ घर भई दाङ लमही नगरपालिका–४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका–१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशसहित पक्राउ गरिएको हो ।
ती घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।