आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द नहुने

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार ०९:३९

काठमाडौं । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द नहुने भएको छ । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको उक्त सडकखण्ड आजदेखि बन्द नहुने भएको हो ।

ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो ।

उक्त सडकखण्डमा ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो । माघे सङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिन भने सो सडकखण्डमा दिउँसो सवारी साधन संचालन गर्न दिइएको थियो ।