चलचित्र पत्रकार संघको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न
मकवानपुर । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखी सुरु भएको भेला मंगलबार १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको हो ।
भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो ।
संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तक्र्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए ।
भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले समन्वय र व्यवस्थापन गरेको थियो ।
भेलामा विभिन्न विषयका सेसन संचालन गरिएको थियो । कार्यक्रमको सुरुवातमै संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गरेका थिए ।
त्यस्तै, बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विद्येयक मस्यौदा बारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सहितको सुझावका राखेका थिए ।
यसैगरी, भेलामा पत्रकार ध्रब लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था (हिजो, आज र भोली) भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गरेका थिए ।
आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिएका थिए ।
यस्तै, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र पत्रकारिता, विज्ञापन रहित नीति र अनलाईन बजार व्यवास्थापन विषयमा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रमको विशेष संवादमा चलचित्र सेन्सर की ग्रेडिङ ? भन्ने विषयमा निर्देशक मनोज पण्डित, निर्देशक दयाराम दाहाल, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यबीच संजोक बत्स्यालले छलफल गराएका थिए ।
त्यस्तै, मिडिया प्रमोशन र कर्पोरेट लगानीको विषयमा भने निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता रवीन्द्रसिंह बानियाँ, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, निर्देशक निश्चल बस्नेतबीच छलफल गराइएको थियो । उक्त छलफललाई पत्रकार अशोकप्यासी राईले सहजीकरण गरेका थिए ।
यसैगरी, चलचित्र वितरक नरेन्द्र महर्जन, नायिका स्वस्तिमा खड्का, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, हाइलाईट्स नेपालका प्रवन्धक जनक तामाङलाई पत्रकार सुव्रत आचार्यले सिनेमा बजार (राष्ट्रिय अन्तरराष्ट्रिय र ओटीटी) विषयमा छलफल गराएका थिए ।
कार्यक्रममा विशेष संवाद अन्तरगत सिनेमा र पर्यटन संवादमा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र बोर्ड सदस्य भूवन केसी, निर्देशक दयाराम दाहाल, नायिकका केकी अधिकारी र पर्यटन बोर्डका सदस्य सुर्य थपलियालाई सिनेमा र पर्यटन विषयक बृहत छलफल गराइएको थियो । कार्यक्रममा चलचित्र पत्रकारिताको फिचर लेखनका साथै पत्रकारिता केहो ? भन्ने विषयमा प्रशिक्षक अरुण बराल र चिरन्जीवी पौडेलले प्रशिक्षण दिएका थिए ।
