अवैध लागूऔषधसहित ९ जना पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको कास्की, झापा, कैलाली र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा पुतलीबजार नगरपालिका–८ घर भई पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जी रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, झापाको झापा गाउँपालिका–१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो.ईन्सुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको धनगढी उपमहामगरपालिका–३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ सय ५० मिलिग्रामसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २३ वर्षीय मनोज राना समेत २ जनालाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले काठमाडौंको काठमाडौं महानगरपालिका–२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड २० ग्रामसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही महानगरपालिका–१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई शनिबार राति पक्राउ गरेको हो । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
