३५ किलो चरेससहित २ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:३६
सांकेतिक तस्बिर

बारा । बाराको अम्लेखगञ्जबाट प्रहरीले लागूऔषध चरेस ३५ किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले बुधबार चितवनबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त पसिमाणको चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि (४२) र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाल रहेका छन् ।

प्रहरीका अनुसार, ३२ एनएम ४४७६ नम्वरको भारतीय कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडी डिक्कीमा फल्स बटम बनाई सो बटममा लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेपछि निजहरुलाई पक्राउ गरिएको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार बरामद गरेको छ । प्रहरीले बरामद लागूऔषध र सामानसहित उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडि बढाइने जनाएको छ ।