माओवादी विधान अधिवेशन बैठक आज पनि
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको उक्त विधान अधिवेशन बैठक आज पनि रहने भएको हो ।
आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदामा छलफल प्रारम्भ गरिएको र आज एक बजेसम्म छलफल गरी समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरिने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।
बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेका छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ ।
