अवैध लागूऔषधसहित ७ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १,मंगलवार १५:३८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ र बर्दियाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैला रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी रहेका छन् । नशालु पदार्थ सेवन गरी एक जना ५५ वर्षीया महिलालाई उनीहरूले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, मोरङको बिराटनगर महानगरपालिका–१६ भट्टी मोड छेउबाट अवैध लागूऔषध खैरो हेरोईन ११ ग्रामसहित प्रहरीले २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१६ बस्ने ३१ वर्षीया हेमा तामाङ र ४० वर्षीया मुना लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका–४ बरबट्टा खेलमैदानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले सोमबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच थरीपुरी गाउँ पञ्चायत बस्ने २३ वर्षीय सुजीत कुमार र बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बानियाभार र बीओपी तारातालबाट खटिएको संयुक्त प्रहरीले युपी ४० एके १५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।