लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १६:४९

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातामाटे लच्कास्थित पूर्व–पश्चिमक सडकखण्डबाट लागूऔषधसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नम्वर १ बस्ने २८ वर्षीय मनु पण्डित र सोही ठाउँ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद कानु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ओनरेक्स ८४ बोतल, नाईट्राभेट ३० ट्याब्लेट र प्रोक्सीको स्पा १६ क्याप्सुलसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार, पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ज. ३ प ७७२८ नम्वरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये  मनु पण्डित भने मोटरसाइकल चालक हुन् । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।