अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १५:३८

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरकमो बेलौरी नगरपालिका–७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका–९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका– ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका–१ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले निजगढ नगरपालिका–६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापा समेत २ जनालाई आइतबार राति उक्त लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।