मकवानपुरको बकैयामा बाघले मार्यो १९ वटा खसी–बाख्रा

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १०:२४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा ६ स्थित सुधामा बाघको आक्रमणबाट १९ वटा खसी–बाख्रा मरेका छ्न् ।

आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसी–बाख्रा बाघले मारेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिइन् ।

उनका अनुसार, बाघले स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा, कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको ३ वटा बाख्रा मारेको अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको उनको भनाई छ । बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति नभएपनि साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको वडाध्यक्ष भोम्जनले बताइन् ।