एकीकृत समाजवादीले १० जिल्लालाई पुरस्कृत गर्ने

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १५:४१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विभिन्न १० वटा जिल्लालाई पुरस्कृत गर्ने भएको छ । एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको हो ।

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ ।

महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए ।

आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ ।