जिल्ला अदालत मकवानपुरले आजदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला अदालत मकवानपुरले आजबाट नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
अदालतको सुविधायुक्त भवन बनेको करिब ३ महिनापछि सो भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार, अदालतको भवन निर्माण बापतको रकम निर्माण व्यवसायीलाई अर्थ मन्त्रालयले रकम उपलब्ध नगराउँदा हस्तान्तरणमा ढिलाई भएको हो ।
अर्थ मन्त्रालयमा रकम भुक्तानीका लागि अदालतको निरन्तरको ताकेता भइरहेको र व्यवसायीको रकम भुक्तानी छिट्टै हुने भएकाले भवन हस्तान्तरण गरिएको उनको भनाई छ ।
सेवा प्रवाह र भवनको औपचारिक उद्घाटन भने आगामी फागुन १६ मा गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।
हेटैंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको जिल्ला अदालतको भवन पुरानो भएकाले भत्काएर नयाँ भवन निर्माणका लागि २०७७ माघमा ठेक्का लगाएर काम सुरु गरिएको थियो ।
पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौंडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो ।
