बाँदर, बँदेल र दुम्सी नियन्त्रण गर्न बेग्लै कानूनको माग

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार १५:५८
सांकेतिक फोटो

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिले वन्यजन्तु (बाँदर, बँदेल र दुम्सी) नियन्त्रण गर्न बेग्लै संघीय कानूनको माग गरेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना धारणा र माग राख्ने क्रममा ग्रामीण क्षेत्रमा वन्यजन्तु (बाँदर/बँदेल/दुम्सी लगायत) बाट बालीनालीको क्षतिका कारण नागरिक बसाई सर्न बाध्य भएको उल्लेख गर्दै छुट्टै कानूनको माग गरेकी हुन् ।

उनले वन्यजन्तुका कारण किसानहरू कृषि पेशाबाटै पलायन हुने क्रम तीव्र भइरहेको भन्दै समन्वय परिषद् बैठकमा गम्भीर समीक्षा गर्न र त्यससम्बन्धी बेग्लै संघीय कानुनको माग गरेकी हुन् ।

उनले नेपाल सरकारले हालै मात्र बँदेल नियन्त्रण सम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाले केही सकारात्मक सन्देश गएको बताउँदै बाँदर नियन्त्रण अहिलेको सबैभन्दा ठुलो चुनौती बनेर आएको बताइन् । उनले यसमा तीन तहकै सरकारको एकीकृत शक्ति आवश्यक रहेको उल्लेख गरे ।