आगलागी हुँदा दाजु–बहिनीको मृत्यु
सुर्खेत । मुगुमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी घटनास्थलममा पुगेपछि दुई वटा जलेका शरीर भेटेको हो । शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत भएका छन् ।
लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पुष्टि भने नभएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
लालुको श्रीमती भने भागेर बाँच्न सफल भएको जनाइएको छ ।
