हेटौंडा आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु
मकवानपुर । शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नं.६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जानको लागि आउँदै गरेको ना.१ ज ७९५८ नम्बरको सुमोमा चौधरी सवार थिए ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ चिसापानी गढीमा रोकेपछि खाजा खान होटलतर्फ जाने क्रममा उनी बेहोस भएर लडेका थिए ।
उनको तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
