हेटौंडामा मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १५:१५

मकवानपुर । मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।

कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा आयोजना गरेको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल र महिला विकास अधिकृत चन्द्रकुमारी ब्यञ्जनकार, महिला, कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रकृया, तर्जुमाको पृष्ठभुमी, विद्यमान समस्या, कार्यान्वयनको अबस्था, चुनौतीहरु, अवसरहरु, नीतिगत निर्देशक सिद्धान्त, नीतिको उदेश्यहरु, कार्यनीतिहरु, विषयगत क्षेत्रमा सदस्यहरू, संरक्षण उपसमितिले गरेका क्रियाकलापहरु, हालसम्मको प्रगतिहरु, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानूनी व्यवस्थाहरु लगायत रहेको थियो ।

‘मानव बेचविखन तथा ओसारपसार मुक्त परिवेश, सचेत, सुरक्षित र सम्बृद्ध बागमती प्रदेश’ भन्ने नारासाथ आयोजित कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।