राष्ट्रियसभा निर्वाचन: बागमतीमा गठबन्धनका चारै जना निर्वाचित

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार १७:५४

मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको बागमती क्लस्टरको निर्वाचनमा सत्तारुढ गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार घनश्याम रिजाल, जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी र श्रीकृष्ण अधिकारी निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट बस्नेत र पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट रिजाल उम्मेदवार थिए ।

पुडासैनीले ६ हजार ६ सय २२ मत, बस्नेतले ६ हजार ५ सय ३१ मत, रिजालले ६ हजार ५ सय १२ मत र अधिकारीले ६ हजार ३ सय ८३ मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रक्रियामा बागमती प्रदेश सभा सदस्य ११० जना र स्थानीय तहका प्रमुख, उपप्रमुख २३७ गरी कूल ३ सय ४७ मतदाता मध्ये ३ सय ४२ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए ।