हेटौंडामा सहिद सप्ताह सुरु

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार १५:०३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरस्थितसहिद स्मारकमा बुधबार बुद्ध पार्कको उद्घाटन गरिएको छ ।

सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज पहिलो दिन उक्त पार्कको उद्घाटन गरिएको सचिव रघुनाथ खुलालले जानकारी दिए ।

पार्कको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले गरेका हुन् । सो क्रममा बोल्दै पौडेलले सहिद सप्ताहका अवसरमा एक हप्तासम्म संचालन हुने विभिन्न कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे ।

पार्कमा गौतम बुद्ध जन्मेपछी हिडेको बुद्धको मुर्ति देख्न सकिन्छ । सोही स्थानमा गौतम बुद्धकी माता मायादेवी, ब्रम्हा र इन्द्रको मुर्ति पनि राखिएको छ ।

यस्तै, सप्ताहव्यापी कार्यक्रमको भोलि माघ ११ गते दोस्रो दिन कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध साँस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने सचिव खुलालले बताए ।

यसैगरी, माघ १४ गते वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने जनाइएको छ ।