राष्ट्रिय सभा निर्वाचन : प्रचारका लागि कांग्रेसको टोली प्रदेशस्तरमा जाने
काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ । कांग्रेसले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको पार्टीका सचिव केशवराज जोशीले जानकारी दिए ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० सदस्य पद रिक्त हुँदैछन् । तीमध्ये १९ स्थानका लागि माघ ११ गते हुने निर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेका छन् ।
तालमेलमा कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिटमा लिएका छन् । निर्वाचनको लागि अन्य दलले पनि आवश्यक तयारी गरिरहेको छ ।
