एकीकृत समाजवादीद्वारा केन्द्रीय परिषद्मा सहभागी हुने नेतालाई निर्देशन

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार १५:४०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरुलाई विभिन्न दुई बुँदे निर्देशन पालना गर्न सूचना जारी गरेको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न दुई बुँदा निर्देशनबारे जानकारी गराएका हुन् ।

उनले जारी गरेको सूचनामा यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्ने जारी सूचनामा उल्लेख छ ।

परिषद् बैठकमा पार्टी केन्द्रीय कमिटी, आयोग, प्रदेश कमिटी, जिल्ला कमिटी अध्यक्षहरू, प्रदेशमा मनोनीत, भ्रातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहनेछन् ।

परिषद् बैठक काठमाडौं उपत्यकामा बस्ने भनिएपनि हालसम्म बैठक स्थल तय नगरिएको जनाइएको छ ।