मानव र वन्यजन्तुबीचको आन्तरिक द्वन्द्व न्यूनिकरण विषयमा अन्तरक्रिया

तु खबर संवाददाता
२०८० मंसिर १९, मंगलवार १७:४७

मकवानपुर । मकवानपुरको मनहरीमा मंगलबार मानव र वन्यजन्तुबीचको आन्तरिक द्वन्द्व न्यूनिकरण विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम मनहरी गाउँपालिका वडा नम्वर ६ को आयोजनामा भएको हो । कार्यालयले चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

वडा कार्यालय भवनमा भएको उक्त कार्यक्रम मनहरी–६ का वडाध्यक्ष युवराज थपलियाको साभाध्यक्षता भएको हो । सो क्रममा विशेष गरी वन्यजन्तुबाट स्थानीयहरु त्रसित भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए ।

पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाएपछि निकुञ्जको चौतर्फी आलोचना बढेको स्थानीयको भनाई छ । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटी, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतीमा बेवास्ता गरेको स्थानीयको बुझाई छ ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तबहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सिमित श्रोत र ऐनको बाध्यताले आफुहरुले केहि गर्न नसकेको भन्दै माथिल्लो स्तरमा कुरा राखी आवश्यक समन्वयकारी भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दिर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए । चितवन लगायतका क्षेत्रहरुमा आरसिसि पर्खाल निर्माण गरिएको उदाहरण दिँदै छिट्टैनै संघ तथा प्रदेस सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।