अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता वितरण

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १८:१०

मकवानपुुर । मनहरी गाउँपालिकाले ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता वितरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका १ सय ३४ जनालाई जनही रु ५ हजार ४०० रुपैयाँको दरले निर्वाह भत्ता वितरण गरेको हो ।

नेपाल सरकारले वितरण गर्दै आईरहेको सामाजिक सुरक्षा भत्तामा नसमेटिएका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भत्ता वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले राज्यको ध्यान नपुगेका आंशिक अपाङ्गलाई स्थानीय सरकारले समेट्नु पर्छ भन्ने उद्देश्यले भत्ता वितरण गरिएको जानकारी दिइन् ।

यस्तै, गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आगामी दिनमा थप बजेट विनियोजन गरी अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहमा टेवा पूर्याउने उद्घोष गरे ।

मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

महिला तथा बालबालीका विकास शाखा प्रमुख शिला अधिकारीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, एम.आई.एस अपरेटर दिपक अधिकारी लगायतको सहभागिता रहेको थियो ।