बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १०:४५
file-photo

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२, झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्रा लागेको थियो ।

घाइते भएका उनलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएकोमा अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।