अपाङ्गता भएका व्यक्तिको अधिकारबारे हेटौंडामा अभिमुखीकरण
मकवानपुर । अपाङ्गता भएका व्यक्तिको अधिकारबारे शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यहरुको अन्तरसम्बन्ध विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हेटौंडाको समन्वयमा भएको हो ।
दिगो विकास लक्ष्य प्राप्तको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको एक्यवद्धता भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अपाङ्ग सरोकार मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले सहजीकरण गरेका थिए ।
सो क्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका निमित्त सचिव गोपालप्रसाद कँडेलले मन्त्रालयले गरिएका काम र आगामी नीति, कार्यक्रम तथा योजनाबारे जानकारी दिएका थिए ।
उनले प्रदेशमा अपाङ्गता भएका बालबालिकाको संख्या बढी रहेको बताउँदै तीमध्ये विद्यालयमा अध्ययन गर्नेको संख्या कम रहेको उल्लेख गरे । मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारबारे नीति तथा कार्यक्रम कार्यान्वयनमा केही त्रुटी रहेको उनको उनको भनाई छ ।
यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हेटौंडाका अध्यक्ष अस्विन लम्सालले स्वागत मन्तव्य व्यक्त गर्दै दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत ५ औं दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
यसैगरी, हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी मन्दिरा सापकोटाले स्थानीय तहले १० प्रतिशत बजेट छुट्याएको जानकारी दिइन् । स्थानीय तह भएपछि धेरै र थोरै रुपमा सम्पूर्ण पालिकाले आफ्नो आर्थिक श्रोतअनुसार बजेट छुट्याइएको उनको भनाई छ ।
