अपाङ्ग दिवसको अवसरमा साताव्यापी कार्यक्रम सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आजबाट साताव्यापी कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा सुरु गरिएको हो ।
साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन तथा ब्यानरद्वारा हेटौंडाको बसपार्क र बुद्धचोकमा प्रचार–प्रसार कार्यक्रम गरी दुई वटा कार्यक्रमको आयोजना गरिएको थियो ।
आगामी मंसिर १७ गतेसम्म संचालन हुने साताव्यापी कार्यक्रमबारे महासंघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । सम्मेलनमा ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको एक्यबद्धता’ भन्ने नाराको साथ अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदानलगायत विभिन्न ९ वटा कार्यक्रम गर्ने अपाङ्ग महासंघ बागमतीका अध्यक्ष अस्मिन लम्सालले जानकारी गराए ।
यस्तै, भोलि दोस्रो दिन अपाङ्गता अधिकारको सवालमा विधमान कानून कार्यान्वयनको अवस्था विषयमा रेडियो/टेलिभिजन सम्वाद, पर्सी मंसिर १३ गते अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, मंसिर १४ गते रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच कार्यक्रमको आयोजना गर्ने भएको छ ।
त्यस्तै, मंसिर १५ गते युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, मंसिर १६ गते दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्यालीसहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।
यस्तै, सोही बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको महासंघ बागमतीका अध्यक्ष लम्सालले बताए ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी, मन्त्रालयकी अधिकृत चन्दाकुमार व्यन्जनकार, शाखा अधिकृत लक्ष्मण पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।